
सीता पौडेल(अर्चना)
काठमाडौं ।नेपाला रेडक्रस सोसाईटी काठमाडौं जिल्ला शाखाले दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही पहिचान गरी त्यसको निदानका लागि तुरुन्तै सेवा प्रदान गरिने आधारभूत प्राथामिक उपचार तालिम सम्पन्न गरेको छ ।

शाखाले काठमाडौंको बागबजार स्थित कार्यालयको सभाहलमा ४ दिनको उक्त तालिमको आयोजना गरेर हालै सम्पन्न गरेको शाखाका अध्यक्ष श्यामकाजी डोटेलले जानकारी दिए ।२७ जना सहभागि रहेको उक्त तालिममा ५ जना प्रशिक्षकहरुबाट घाइते वा विरामीको प्राथमिक उपचार गर्नु पूर्व तथा पश्चात गरिने उपचार सम्बन्धमा सैद्धान्तिक तथा प्रयोगात्मक तवरबाट तालिम सञ्चालन गरिएको अध्यक्ष डोटेलले बताए ।

सो समापन कार्यक्रममा उनले आकास्मिक तथा सामान्य अवस्थामा गरिने प्राथमिक उपचार विधि र तरिकाहरुका बारेमा स्पष्ट पार्दै सिकेका कुरालाई व्यवहारमा उतार्न सबै सहभागिहरुलाई अनुरोध समेत गरे ।
तालिममा सिकाइएका प्राथमिक उपचारका विषयबस्तुहरु :
१) प्राथमिक उपचार पूर्व अपनाउनु पर्ने सुरक्षित विधि र तरिकाहरु
२) ठूलो तथा सामान्य अवस्थाको रक्तश्रावमा गरिने प्राथमिक उपचार तथा क्षोभ हुदाँ गरिने
उपचार विधिहरु
३) गाडिने तथा नगाडिने घाउँको प्राथमिक उपचार विधि तथा सुरक्षाका उपायहरु
४) हाडजोर्नी को दुखाई र भाँच्चिदा गरिने प्राथमिक उपचार विधि
५) हाडजोर्नी दुखाई तथा हाड भाच्चिदा गरिने प्राथमिक उपचार तथा झोला विधि
६) ब्यान्डेज बाँध्ने विधिहरु
७) घाइते तथा बिरामीहरुलाई चेत् र सास हुँदा, चेत् नहुदाँ सास हुँदा तथा चेत् र सास
दुवै नहुदाँ गरिने प्राथमिक उपचार विधिहरु
८) मेरुदण्ड तथा टाउकोमा चोट लाग्दा सुरक्षित प्राथमिक उपचार तथा अस्पताल लैजान
प्रयोग गरिने स्रोत तथा साधनहरुको निर्माण प्रकृया विधि र तरीकाहरु
९) घाइते तथा बिरामीलाई उपचार गर्न अस्पताल लैजाँदा बोक्ने तथा भाचिएका अगंहरुलाई सुरक्षित
तरिकामा बाध्ने विधि
१०) पोलाईका प्रकारहरु तथा तत्पश्चात गरिने उपचार विधिहरु
११) लेक लाग्दा गर्नुपर्ने प्रथामिक उपचार विधि
१२) बेहोसी तथा क्षेभ हुदाँ गरिने सुरक्षित प्राथमिक उपचार विधि
१३) सर्पको टोकाई, कुकुरको टोकाई, बारुला तथा बिच्छीकोटोकाई पश्चात गरिने प्राथमिक
उपचार विधि
१४) घाटी तथा नाकमा केहि बस्तुअड्किदा गरिने प्राथमिक उपचार विधि आदि ।


कार्यक्रमका शाखाका कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरले तालिममा सहभागि सबैलाई खाजा पानी लगायतको सम्पूर्ण व्यवसथापन आयोजक स्वयंले गरेको बताए। सो समापन कार्यक्रममा ४ जना सहभागिहरुले तालिमका विषय र सिकाइ अनुभवबारे आफ्ना धारण प्रस्तुत गर्दै सो तालिम निकै राम्रो र उपयोगी भएको बताए ।साथै उनीहरुले सिकेका कुराहरु व्यवहारमा लागू गर्नुका साथै अरुलाई पनि सिकाउने प्रतिबद्धता व्यक्त गरे।

सो समापन समारोहमा शाखाका अन्य पदाधिकारी तथा सदस्यहरु,रेडक्रसका विभिन्न शाखाका अन्य प्रतिनिधिहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकोको उल्लेख्य सहभागिता रहेको थियो ।भने तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै अतिथिहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।


प्राथमिक उपचार के हो ?
दुर्घटना जहाँ र जहिले पनि हुन सक्दछ ।प्राथमिक उपचार भनेको गम्भीर दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको समाधानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो।जसअन्तर्गत घटनास्थलको आँकलन,प्रभावित व्यक्तिको अवस्थाको आँकलन,श्वासनली वा खानानली अवरुद्ध भएको अवस्थाको उपचार, अवरुद्ध वा अनियन्त्रित भएको मुटुको क्रियाकलाप पुनः नियमित गर्ने,गम्भीर रक्तपात नियन्त्रण,मानसिक आघात (सक) व्यवस्थापन,मेरुदण्डको चोट व्यवस्थापनदेखि अर्ध चेत वा मूच्र्छित अवस्थाका व्यक्तिलाई होसमा ल्याउने कामहरू पर्दछन् ।
यसका अलावा दुर्घटना वा चोटपटकका कारण आकस्मिक सेवाको आवश्यकता पर्ने घाउको आँकलन,बिरामीको अवस्था,घाउमा मलमपट्टी गर्नेदेखि चोट लागेको वा टुक्रेको हड्डीलाई जोड्न काम्रो बाँध्ने आदि सीप पर्दछन्।यस्तो प्रकृतिको सेवाका लागि उच्च दक्ष जनशक्तिको आवश्यकता पर्दैन।यस सम्बन्धमा तालिम प्राप्त वा अनुभवी व्यक्तिले सेवा प्रदान गर्न सक्दछन्।
यस्ता सेवा प्रदान गर्नुका मुख्यतयाः तीनवटा उद्देश्य हुन्छन् ।
जीवनरक्षा,थप जोखिम बढ्न नदिनु र निको पार्नु प्राथमिक उपचारका मुख्य तीन उद्देश्य हुन् ।यस्ता जीवनोपयोगी कलाका बारेमा राम्रो ज्ञान हुँदा दुर्घटनाको अवस्थामा आफू स्वयं,परिवार, छिमेकीदेखि अपरिचित व्यक्तिको समेत स्वास्थ्य रक्षा गर्न वा ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
तसर्थ यस्ता प्राथमिक उपचार बारेको ज्ञान समाजका हरेक व्यक्तिले जान्नु आवश्यक छ ।यसका लागि यस प्रकारका तालिमलाई सरोकारवालाहरुले मात्र नभएर सरकारले समेत प्राथमिकतामा राख्नु जरुरी छ ।
