कोदोको उत्पादन घट्दै जाँदा आयात बढ्यो, पूर्वीनाकाबाट ८५ करोडको आयात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिए ।

उनका अनुसार आव २०७९र८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताए ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उनले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिए ।