बागमतीका मुख्यमन्त्री लामाले लिए शपथ

मकवानपुर ।बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बुधबार एक समारोहबीच नवनियुक्त मुख्यमन्त्री उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

मुख्यमन्त्री लामाले सपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषद्मा नियुक्त मन्त्रीहरुलाई समेत् मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराएका छन्।

प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसार नवनियुक्त मन्त्रीहरुमा एमालेका तर्फबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी,किशोर सिलवाल वन तथा वातावरण, किरण थापा स्वास्थ्य, अमन मास्के भौतिक योजना तथा पूर्वाधार, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन,प्रेमभक्त महर्जन श्रम,रोजगार तथा यातायात तथा नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ।

आज विस्तारित मन्त्रिपरिषद्मा जिम्मेवारी नतोकिएका मन्त्रालयको जिम्मेवारी नतोकिएसम्म मुख्यमन्त्री लामाले उक्त मन्त्रालय सम्हाल्ने गरी प्रदेश प्रमुख शर्माले जिम्मेवारी तोकेको प्रवक्ता पौडेलले जानकारी दिएका छन्।

मुख्यमन्त्री लामा नुवाकोट निर्वाचन क्षेत्र २ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।