चालू आर्थिक वर्षको मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौं।चालू आर्थिक वर्षको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा सीमित गर्ने लक्ष्य राखेको छ।

आज शुक्रबारमौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने बताएका छन्।

विस्तृत मुद्राप्रदायको लक्ष्य १२ प्रतिशत मात्रै हुने लक्ष्य पनि मौद्रिक नीतिमा उल्लेख भएको उनको भनाइ छ।

आर्थिक वर्ष २०८१÷८२ को नेपाल सरकारको बजेटमा अनुमानित ६.० प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गरिने पनि गभर्नर अधिकारीको भनाइ छ।

कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य समेत रहेको उनले बताएका छन्।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरेको छ ।

हरेक वर्ष बजेट आएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ।