
२० साउन, पर्वत । पर्वतका कृषकले लगाएको धानबाली ढुसीको सङ्क्रमणले नष्ट हुन थालेको छ । धान रोपेको एक महिनामा ढुसी रोगका कारण धानका गाँजहरु मर्दै जान थालेपछि कृषक चिन्तित बनेका छन् ।
जिल्लाको फलेबास नगरपालिकाका सबैजसो वडा, कुश्मा, विहादी, महाशिलालगायत वडामा लगाइएको धानबालीमा जरा कुहिने रोग लागेको फलेबास नगरपालिकाकाको कृषि शाखा प्रमुख केदार सापकोटाले जानकारी दिए । ‘फुट रुट’ नामक उक्त रोग ढुसीका कारण लागेको र यसले कतिपय स्थानमा धानखेत रित्तिँदै जान थालेको उनले बताए ।
सापकोटाका अनुसार अहिले यो समस्या देशव्यापी रुपमा देखापरेको छ । “यो रोग ढुसी नामक फुजारिएम मोनिलिफर्मबाट लाग्ने गर्दछ’, उनले भने, ‘ब्याडमा कलिलो बिरुवादेखि खेतमा धान छिप्पिने बेलासम्म यो रोग देखापर्ने सम्भावना रहन्छ । यसलाई समयमै नियन्त्रण गर्न नसक्ने हो भने ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउँछ”
जिल्लास्थित कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सोविता सुवेदीले बीउको उपचार नगरिकन रोपाइँ गरिएकाले धानबालीमा ढुसी रोग फैलिएको बताए । धानले गाँज राख्ने बेलामा रोग फैलिएकाले तत्काल उपचार गर्नुपर्ने उनको सुझाव छ ।
