रोटरी क्लब अफ काठमाडौं नर्थद्धारा निर्माणाधिन १०८फिट अग्लो शिवमूर्तिको पाउमा वृक्षारोपण

सीता पौडेल (अर्चना)

२७ साउन,काठमाडौं ।‘निजी स्वार्थ भन्दा माथि सेवा’ भन्ने रोटरीको मुल मन्त्रलाई आत्मसात् गर्दै आएको ‘रोटरी क्लब अफ काठमाडौं नर्थ’ ले भक्तपुरको कलामसिमा निर्माणाधिन अवस्थामा रहेको १०८ फिट अग्लो शिवको मूर्तिको फेदीमा वृक्षारोपण गरेको छ ।

शनिबार ‘ग्रीन भ्याली ग्रीन नेपाल’ सँगको सहकार्यमा कलामसीका स्थानीयहरुको सहयोगमा क्लबले विभिन्न प्रजातीका एक सय वटा बोटविरुवाहरु रोपेको क्लबका निवर्तमान अध्यक्ष सुवास घिमिरेले जानकारी दिए।

धार्मिक,सांस्कृतिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त ठाउँमा गत वर्ष पनि क्लबले विभिन्न प्रजातीका १ सय ५० वटा विरुवा रोपेको थियो।भने,यस वर्ष कपुर,काइँयो, असारे,समी लगायत विभिन्न प्रजातीका १०० वटा बोट विरुवा रोपिएको उनले बताए।

वृक्षारोपण कार्यक्रममा ग्रीन भ्याली ग्रीन नेपालका अध्यक्ष रोटरीयन भुवन श्रेष्ठले क्लबले वृक्षा रोपणको लागि उपयुक्त स्थान छनौंट गरेको र संरक्षणको लागि स्थानीयसँग सहकार्य गरेकाले रोपेका विरुवाहरुको हेरचाह तथा संरक्षण हुनेमा आफू ढुक्क भएका कारण क्लबलाई निःशुल्क रुपमा विरुवा उपलब्ध गराएको बताए।

साथै उनले क्लबले गरेको कामको स्रहाना गर्दै थप ३ वर्षसम्म क्लबलाई निःशुल्क विरुवा उपलब्घ गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा क्लबका गुरु(मेन्टोर) एवं पूर्वअध्यक्ष गोपालराज पोखरेल र पूर्वअध्यक्ष एवं पब्लिक इमेज कमिटि प्रमुख गणेश पौडेलले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भूटानले जोड दिंदै आएको मानवीय तथा सामाजिक कार्यहरु अन्तर्गतका शिक्षा,स्वास्थ्य लगायत विशेष सात क्षेत्रमध्ये वातावरण संरक्षणलाई महत्व दिएर काम गर्दै आएको जानकारी दिए।उनीहरुले क्लबले विगत १२ वर्षदेखि निरन्तर रुपमा वृक्षा रोपण गर्दै आएको समेत बताए ।

साथै क्लबले सन् २०१२ देखि सन् २०२२ सम्म काठमाडौंको सामाखुशी स्थित रानीवारी उद्यान परिसरमा वृक्षा रोपण गर्दै आएको र सोही स्थान भरिएका कारण विकल्प खोज्दा कलामसि उपयुक्त  स्थान भेटिएको जिकिर गर्दै त्यहाँको खाली जमिनमा वृक्षारोपण शुरु गरेको  पनि बताए ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं कार्यक्रम परियोजना(सर्भिस प्रोजेक्ट )प्रमुख गौतम प्रसाद खनालले धार्मिक तथा ऐतिहासिकसँगै पर्यटकीय दृष्टिकोणलेसमेत महत्वपूर्ण रहेको सो ठाउँको खाली जमिनलाई हराभरा बनाउन यसलाई सिग्नेचर पोजेक्टको रुपमा बिस्तार गरेर लैजान सकिने स्पष्ट पारे ।

यस्तै कार्यक्रममा पूर्वअध्यक्ष विर बाहादुर तामाङले रोटरीले निस्वार्थ भावले गर्ने सामाजिक तथा मानवीय कार्यले समाजमा दुःख पीडामा परेकाहरुलाई आहातमा राहत पुग्ने र सुन्दर समाजको निर्माणसँगै  देश विकासमा टेवा पु¥याउने हुँदा आफु आरसिसि सदस्यबाट रोटरीयन बनेको बताए ।

मानिसलाई कहिलेकाहीं खराब अम्बलको नशा लागे जस्तो आफुलाई रोटरीमा बसेर सेवाकार्य गर्ने नशा लागेको भन्दै उनले आफ्नो रगतको नशा–नसामा रोटरी बगेको जिकिर गरे।

कार्यक्रममा पूर्वअध्यक्ष एवं यस रोटरी वर्षका डिष्ट्रक्टका आरसीसी कमिटि प्रमुख उत्तम खड्काले वातावरण प्रदुर्षण विश्कै जल्दो बल्दो समस्याको रुपमा खडा भएको हुनाले सबै मिलेर वातावरण संरक्षण गर्नु जरुरी रहेको बताए । साथै गत वर्ष को–चेयरको रुपमा रहेर आरसीसी कन्फ्रेन्सलाई चितवनको सौराहामा भव्यताका साथ सम्पन्न गरेको दावी गर्दै उनले यस वर्षको आरसीसी कन्फ्रेन्स भने गोर्खा जिल्लामा गर्ने योजना सुनाए ।

त्यसैगरि वृक्षारोपण कार्यक्रममा स्थानीय ध्रुव नेपालले क्लबद्धारा रोपिएका विरुवाहरुको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गर्नुका साथै सोही ठाउँमा आरसिसि गठन गरिदिन मौखिक प्रस्ताव समेत पेश गरे ।

सो वृक्षारोपण कार्यक्रममा क्लबका गुरु एवं पूर्वअध्यक्ष गोपालराज पोखरेललगायत अन्य पूर्वअध्यक्षहरु,बोर्ड सदस्यहरु तथा पदाधिकारीहरु,५ वटै कमिटिका प्रमुखहरु,ग्रीनभ्याली ग्रीन नेपालका संस्थापक तथा संरक्षक रोटरीयन भुवन श्रेष्ठ तथा प्रतिनिधिहरु,स्थानीय समाजसेवीहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।