
मुगु । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् । जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ ।
सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।
