नाडा अटो शो–२०२४ भदौ ११ गतेदेखि

३० साउन,काठमाडौं ।नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो–२०२४ आयोजना गर्ने भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म अर्थात् भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने बताइएको हो।

यस वर्ष नाडा अटो शोमा टाटा.ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन्।यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ।

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू,१९ दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले बताएको छ।

जुन लुब्रिकेन्ट, टायर,ब्याट्री,ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट लगायतका ३३ कम्पनीहरू रहेको जनाइएको छ।शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्।जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।