सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी छ: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन्।

नेपाल विद्युत् प्राधिकरणको ३९औं वार्षिकोत्सवका अवसरमा शनिबार शुभकामना दिँदै मन्त्री खड्काले मुलुकभर रहेको जलस्रोतको अधिकतम उपयोग गरी सरकारी र निजी क्षेत्रको परस्पर सहयोग तथा समन्वयबाट ऊर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउनु जरुरी रहेको बताए।

उनले नेपालको कूल विद्युत् उत्पादन क्षमता तीन हजार २०० मेगावाट पुगेको र गत आर्थिक वर्षमा मात्र करिब चार सय ६३ मेगावाट राष्ट्रिय ग्रिडमा थपिएको जानकारी दिए।मन्त्री खड्काले सन् २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नेतर्फ सम्बद्ध निकायले थप प्रभावकारी रुपमा काम गर्न जरुरी देखिएको बताए।

मन्त्री खड्काले सरकारले राखेको लक्ष्य पूरा गर्नसकेमा मुलुकमा पर्याप्त ऊर्जा खपत बढाउन सकिने, औधोगिकीकरणको विकास भई पर्याप्त रोजगारी सिर्जना हुने र आन्तरिक ऊर्जाको निर्यातबाट पर्याप्तमात्रामा वैदेशिक मुद्रा आर्जन गर्ने अवसर प्राप्त हुने बताए।