काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन्। पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शकां, उपशकां, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताए।
“स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, अध्यक्ष दाहालले भने, “ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यस सम्बन्धमा स्वयम् उनले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशकां छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”
स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष दाहालले बताए । उनले भने, “शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”
पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उनले भने, “पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिति बैठकमा आउँदा त्यो क्लियर भएको छ ।त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।”अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे । “पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा महत्त्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोड दिन खोजिएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उनले भने ।
अध्यक्ष दाहालले साधारण किसान परिवारमा हुर्केर ठूलो राजनीतिक उचाइ हासिल गरेका बोगटीको व्यक्तित्व र चरित्रले सिंगो समाजलाई नै प्रभावित पार्न सक्ने अवस्था रहेको स्मरण गरे ।
