योगी पाइलट बाबाको निधन

५ भदौ ,काठमाडौं । भारतीय सन्त ‘पाइलट बाबा’को ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार दिउँसो निधन भएको छ ।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध थिए ।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । उनले मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग सन् १९७४ मा दीक्षा लिएका थिए भनेर संहिताशास्त्रीहरुले बताउँदै आएका छन्।

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन्।भारतमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए ।हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए।

उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।

उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए।पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।