सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छिन् ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् । पूर्वराष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता हुनुलाई आफूले ठुलो शिक्षाका रूपमा लिएको बताइन् ।

उनले नेपालमा कला र संस्कृति जोगाउने सवालमा युवा र महिलाको भूमिका बढेको समेत बताइन् । “मुलुकमा युवा तथा महिलाको उपस्थिति विकास निर्माण मात्रै नभई कला र संस्कृतिको जगेर्नाका लागिसमेत अपरिहार्य रहेको छ । त्यसैले स्थानीय कला र संस्कृतिको संरक्षणमा युवा पुस्तालाई जोड्न सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ”, उनले भनिन् ।