१८, भदौै काठमाडौं । नेपाली काँग्रेसका नेता तथा सरकार गृह मन्त्री रमेश लेखकले वर्तमान सरकार र समीकरणमा कुनै समस्या नरहेको बताएका छन् ।
प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमाले र काँग्रेसबीच राम्रो वातावरण रहेको र कसैले पनि अफ्ठयारो पार्न नसक्ने बताएका थिए ‘अहिले समीकरणमा नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा अत्यन्त स्वहार्दपूर्ण, सरल र राम्रो वातावरण छ ।
कुनै खालको पनि कन्फ्युजन, कुनै खालको अफ्ठेरो, समस्या छैन । यसमा अफ्ठेरो समस्या पार्न खोजे पनि पार्न सक्ने अवस्था छैन’ पत्रकार सम्मेलनमा उनले भने ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सन्किसकेको समेत उनले टिप्पणी गरेका थिए ।
मन्त्री गुरुङले राजधानीमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएका थिए । प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले प्रहरी महानिरीक्षक कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।
