अस्वस्थ जीवनशैलीले बढ्यो नसर्ने रोगको जोखिम

१९, भदौ काठमाडौंं । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ। विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन्।

विज्ञहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ। मुटु रोग विशेषज्ञ डा।राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ।

यी सबै नसर्ने रोग हुन्। स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ। खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ।

‘धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ। अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा।कोजु भन्छन्।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्।

जुन विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो। हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन्। नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन्।

कार्डियो भास्कुलर रोग ९सिभिडी० बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रूपमा ज्यान गुमाउने गरेका छन्। नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ।