सुकिलुम्बा विमानस्थल बिहीबारदेखि पुन : सञ्चालन हुँदै

१९ भदौ, इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए । गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन ।

त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिंदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए ।