आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको १११औँ जन्मजयन्ती मनाइँदै

२४, भदौ काठमाडौं । आज नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै बीपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका थिए ।

भारत निर्वासन कै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शमशेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा पहिलो दलको रूपमा रहेको छ । कांग्रेस र नेकपा ९एमाले० मिलेको लोकतान्त्रिक–प्रगतिशील गठबन्धन सरकारमा सहभागी छ ।

क्रान्तिको सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बीपी गृहमन्त्री बने । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीत्व कालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए ।