
२७, भदौ नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।
विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थालेका हुन्। “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भने ।
विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन् । कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताइन् ।
“यसअघि विद्यालयमा पढाइ मात्र हुने गरेको थियो, अहिले तरकारी खेती पनि सुरु भएको छ । पढाइसँगै सीप सिक्न पाउँदा हामी उत्साहित छौँ, यो प्रभावकारी कार्यक्रम हो”, उनले भनिन् ।
लाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत रु २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उनले भने, “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ ।”
