
२८, भदौं काठमाडौं । नर्वेका सांसदहरूको एक टोली नेपाल भ्रमणमा आएको छ । उनीहरूले बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ ।
सिंहदरवारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नर्वे र नेपालको संसदीय समितिबीच पहिलो पटक बैठक भएको बताए ।
उनले संसदीय कूटनीतिका रूपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो ।
लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले जनाएका छन् ।जलवायु परिवर्तनका प्रभावहरूको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको छ ।
