२, असोज काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उहाँले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताए ।
साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताए ।उद्योग व्यवसायसँग सम्बन्धित विवाद निरूपण गर्न महासङ्घमा मेलमिलाप केन्द्र स्थापनासम्बन्धी कार्यविधि तयार भएको बताउँदै उनले त्यसबाट व्यवसायी बीचका विवाद समाधानमा योगदान पुग्ने बताए ।
देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेका बताउँदै स्वदेशी पुँजीमा नै विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिए ।
