
२, असोज काठमाडौं । काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । संविधान दिवसको दिन बिहीबार दरबारमार्गमा हुने सांगीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेकाले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो । नागरिक स्तरबाट आयोजना हुने नेस्नल डे कन्सर्टका लागि स्टेज निर्माण भइरहेका कारण उक्त क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मार्गबाट दरबारमार्ग क्षेत्रमा आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिण गेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ ।
‘काठमाडौँको दरबारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१र०६र०३ गते आयोजना हुने नेस्नल डे कन्सर्टको तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१र०६र०१ गते २०ः०० बजेदेखि मिति २०८१र०६र०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिण गेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ब्यहोरा जानकारी गराइन्छ,’ ट्राफिक प्रहरीको सूचनामा उल्लेख छ ।
