
१०, असोज म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका(४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङ्ग्रा छन् । घुम्ती गोठमा पालेको च्याङ्ग्रा बेचेर उनले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउँदै आएका छन् ।
“वर्षमा ४० जति च्याङ्ग्रा बिक्री हुन्छ,” उनले भने “घरव्यवहार चलाउने र छोराछोरी पढाउने खर्च च्याङ्ग्रा पालनबाटै जुटाउने गरेको छु ।” ३५ वर्षीय डिण्डुपले विदेश नगई पुर्खाले गर्दै आएको च्याङग्रापालनलाई निरन्तरता दिएका हुन् ।
याराका डिण्डुपले जस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको प्रायजसो घरमा च्याङ्ग्रा पालेका छन् । दसैँ तिहारमा पोखरा, काठमाडौँ लगायत देशका विभिन्न जिल्लामा मासुका लागि मुस्ताङका किसानले पालेका च्याङग्राको उच्च माग हुन्छ ।
