
१५, असोज काठमाडौँ । काठमाडौँ भित्रिने मुख्य नाका नागढुंगादेखि धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोला सड्क खण्डमा मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । अहिले सो सड्क खण्डमा एकतर्फी मात्रै सवारी चलिरहेका छन् ।
मोटरसाइकल पनि रोकेर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बाटोमा भएको पहिरो पन्छाउन लागिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘पहिरो पन्छाएर दुईतर्फी नै सड्क सञ्चालनका लागि दुई घण्टा सवारी साधन चलाउन रोक लगाइएको हो ।’
धुनिवेशी नगरपालिका स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए
