
सीता पौडेल (अर्चना)
२५ असोज,काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कार्यालय कीर्तिपुरमा सर्ने भएको छ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढीको उच्च जोखिम भएपछि एमालेले कीर्तिपुरमा स्थानान्तरण गर्ने निर्णय गरेको हो।
बिहिबार दिउँसो बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले कीर्तिपुर नगरपालिका २,स्थित कलङ्की तीनधारा क्षेत्रको जग्गामा शुक्रबार दिउँसो नयाँ कार्यालय भवन शिलान्यास गर्ने निर्णय गरेको छ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नयाँ कार्यालय भवको शिलान्यास १२ बजेर २५ मिनेटमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
यसअघि २०७२ सालको भूकम्पले बल्खुस्थित कार्यालय भवनमा क्षति पुगेपछि एमालेले बबरमहलमा कार्यालय सारेको थियो।पछि ललितपुरको च्यासल स्थित पुष्पलाल स्मृति भवनमा केन्द्रीय कार्यालय बनाएको थियो।एमालेले सो कार्यालय भाडामा लिएर सञ्चाल गदैं आएको थियो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भाडाको भवनबाट कार्यालय सञ्चालन भइरहेकोमा अब भने एमालेले कीर्तिपुरमा स्थायी कार्यालय बनाउने निर्णय गरेको हो।नयाँ कार्यालय भवन मदन भण्डारीको स्मृतिमा बनाइने तयारी रहेको छ।
