एमाले काठमाडौं १६ नं वडा अध्यक्षमा तुलाधर सर्वसम्मतिले सिफारिस

मनिषा गुरुङ

२० कार्तिक,काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं १६ को वडा अध्यक्ष पदको लागि एमाले १६ नं वडा कमिटीले लक्ष्मीरत्न तुलाधरलाई सिफारिस गरेको छ ।

आज मंगलबार पार्टीकार्यालयमा बसेको वडा कमिटीको १० औं पूर्ण बैठकले आगामि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि तुलाधरलाई सर्वसम्मत रुपले उम्मेदवार सिफारिस गरेको एमाले १६ नं वडा कमिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए । 

वडा कमिटीले आजै लिखित पत्रसहित सो सिफारिस महानगर कमिटीलाई पठाइसकेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष गणेश श्रेष्ठले यसबारे छलफल गर्न भोलि बुधबार बिहान ७ः३० बजे नगर कमिटीको बैठक बोलाइसकेको बताए ।

एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाका अनुसार यसबारे छलफल गर्न जिल्ला कमिटीले पनि भोली बुधबार नै मध्यान्ह १२ः३० बजे बैठक बोलाइसकेको बताए । 

वडा कमिटीले एकल नाम पठाएकाले  नगर र जिल्ला कमिटीले पनि तुलाधरलाई नै उम्मेदवार सिफारिस गर्ने पक्कापक्की भएको एमाले क्षेत्र नं ७ का संयोजक प्रेमलाल श्रेष्ठले बताए ।

सर्मसम्मतिले एकल नाम सिफारिस भएकोले तुलाधर नै उम्मेदवार बन्ने पक्कापक्की भएको यस क्षेत्रका एमालेका नेता तथा कार्यकताहरुको आँकलन छ ।

एमालेले वडाले गरेको सिफारिस नगरमा,नगरले जिल्लामा  उम्मेदवार सिफारिस गर्ने, जिल्लाले प्रदेशलाई र प्रदेशले केन्द्रमा पठाउने व्यवस्था गरेको छ।

२०७९ को महानगरको यस १६ नं वडाको निर्वाचनमा पनि एमालेले अध्यक्ष पदमाबाहेक सबै वडा सदस्य पदमा विजय हासिल गरेको थियो ।

वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले सो वडामा वडा अध्यक्षको पद रिक्त हुन पुगेको हो।