विमान चालकको समस्या छिट्टै समाधान हुन्छ : वायुसेवा निगम

१०, मंसिर काठमाडौं । नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।

सेवा सुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट)ले बिदामा बसेर विरोध जनाएपछि आइतबार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए ।उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए । भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ । यात्रुलाई आइतबार राति मुम्बई र आज बिहान दुबई लगिएको छ ।

उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।