रोल्पामा निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु

१६, मंसिर काठमाडौं ।रोल्पामा एक निर्माणाधीन झोलुंगे पुलको पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ । 

पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको थियो ।

मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् ।मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर आज बिहान ९ः५० बजे उनीहरु पुरिएका थिए । दुई जना भने भागेर ज्यान जोगाउन सफल भएका थिए ।

सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो ।