फेवातालमा माछा घट्दा जलारी समुदायको पेसा सङ्कटमा

२२, मंसिर लेखनाथ । पोखरा–१८ खपौंदी निवासी ८० वर्षीया मिश्री जलारी जीवनको उत्तरार्धमा पनि फेवातालका माछा बिक्री गर्न पोखरा बजार पुग्छिन् । जाल थापेर निस्केका माछा बिक्री गर्न उनी पोखरा बजारमा जान थालेको पनि ६७ वर्ष बितिसकेको छ ।

उनले भनिन्, “तेह्र वर्षको उमेरमा विवाह भयो, श्रीमान् पनि उमेर छदै बित्नुभयो, दुई छोरा छन्, उनीहरु पनि भिन्दै बस्छन्, छोराहरुले जाल थापेर मारेका माछा बिक्री गर्न जान्छु । पछिल्ला वर्ष जालमा माछा पर्न पनि कम भइसकेको छ, दशौँ वर्ष भयो स्थानीय जातमा शहर, असला र नैनी माछा देख्न पाइएको छैन, फेवातालमा माछा घट्दा हाम्रा पेसा सङ्कटमा परेको छ ।”

पोखराको फेवाताल किनार खपौंदी, वैदाम, गाईघाट जलारी समुदायको एक सय परिवार रहेको मध्य एक दुई परिवार ती मध्य एक दुई परिवारबाहेक अन्य सबै यही पेसामा आबद्ध छन् । हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फिरन्त जीवन स्थापित त भयो तर यो समुदायमा गरिवी भने हट्न नसकेको जनाउँदै पछिल्ला वर्ष फेवाताल वरपरका खेतमा विषदीको प्रयोग हुँदा माछा लोप भएका कारण जलारीका पेसा थप सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरे ।