मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

२४, मंसिर काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमपछि कुरा गर्दै उनले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताए ।

“बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भने । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उनको भनाइ थियो ।

मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गरे । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था तत्काल गरिनुपर्छ”, उनले भने, “क्षति व्यहोरेका स्थानीयले तत्काल राहत नपाउँदा वन्यजन्तुप्रति आक्रोश र आक्रमण गर्न थालेका छन् ।” निकुञ्ज संरक्षण र क्षेत्रलाई समस्या होइन समृद्धिसँग जोड्न आवश्यक देखिएको मन्त्रीले बताए ।