
२४ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने जनाएको छ ।
यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ । अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।
यसअघि विभागले असोज १५ देखि पुस १६ गतेसम्मको हावापानी आँकलन २० असोजमा सार्वजनिक गरेको थियो । त्यसको सारांशमा यस वर्ष १५ असोजदेखि १६ पुससम्मको अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो ।
साथै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको भनिएको थियो ।
यसैगरी अधिकतम र न्यूनतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने उल्लेख थियो । तापक्रमको प्रक्षेपण मिले पनि वर्षाको सवालमा भने विभागको प्रक्षेपण मिलेको देखिएको छैन । किनभने असोज १५ यताका अधिकांश दिन सुक्खा छन् ।
