
२५, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ ।
महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गरे । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए ।उनले भने, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरे ।
महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उनले जानकारी गराए । कार्यक्रममा परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले वायु गुणस्तर उपकरणको प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै जडान पश्चात सम्पूर्ण तथ्याङ्कमा महानगरवासी सुसूचित हुने बताए ।
यस परियोजनाअन्तर्गत, महानगरले १८ वटा ‘क्ल्यारिटी नोड–एस’ वायु गुणस्तर ‘सेन्सर’ स्थापना गर्दैछ । यसले वायुमा रहेको ‘पीएम २।५’ को वास्तविक समयको डाटा प्रदान गर्नेछ । पीएम २।५ भनेको वायुमण्डलमा पाइने साना धुलोका कणहरू हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्दछन् ।
