पत्रकार महासंघको नेतृत्व चुन्न आज मतदान

२८, मंसिर काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।

अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह (एलएस) लामा उम्मेदवार छन् ।

शर्मा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट, विष्ट प्रेस युनियनको विद्रोही, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट तथा सापकोटाले क्रियाशील पत्रकारहरुको साझा मोर्चाबाट उम्मेदवारी दिएका हुन् । लामाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार छन् ।यसैगरी महिला उपाध्यक्ष शर्मा प्यानलबाट नितु पण्डित, विष्ट प्यानलबाट गंगा पौडेल प्रतिस्पर्धामा छन् । सापकोटा प्यानलबाट महिला उपाध्यक्षको उम्मेदवार छैनन् । आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ