यो वर्ष चिसो कम हुने

५, पुस काठमाडों । जल तथा मौसम विज्ञान विभागले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ।

मौसमविद् सञ्जिव अधिकारीले तीन महिनाको हावापानीबारे जानकारी दिदै यो वर्ष अघिल्लो वर्षभन्दा धेरै चिसो नहुने पूर्वानुमान गरिएको बताएको हो ।

मौसमविद् अधिकारीले भने “यो हिउँदमा सरदरभन्दा चिसो कम हुने अनुमान गरिएको छ। तीन महिनाको समग्र हावापानीको कुरा गर्नुपर्दा औसतभन्दा अलिकति कम चिसो हुने पूर्वानुमान छ।”बुधबार जुम्लाको तापक्रम माइनस ५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौं उपत्यकामा पुस ४ गतेसम्म न्युनतम तापक्रम दुई डिग्री सेल्सियसम्म मात्र पुगेको छ।

बिहीबार बिहान लुम्बिनी, मधेश र कोशीमा हुस्सु लागेको अवस्था थियो। तर, दिउँसो हुस्सु तथा कुहिरो हटेर दैनिकी सहज बनेको छ।उनले आगामी तीन दिनमा ठूलो मौसमी परिवर्तन हुने सम्भावना नदेखिएको बताए । शुक्रबार छिटफुट हिमपातको सम्भावना रहेपनि मौसममा ठूलो किसिमको परिवर्तन नहुने उनको भनाइ छ।उनका अनुसार हिउँदयाममा धेरै हिउँ पर्नुपर्ने भए पनि यो वर्ष पश्चिमी वायुको प्रभाव बढी हुँदा चिसो कम हुने देखिएको हो।