
८, पुस कास्की । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए ।
‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,’ उनले भने। सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताए ।
