आजको मौसम : वर्षा र हिमपातको सम्भावना

१२, पुस काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ ।काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिए ।

‘भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ अर्यालले भने, ‘काठमाडौं उपत्यकामा भोलि शनिबार हल्का वर्षाको सम्भावना छ ।’