पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

१४ पुस, पोखरा ।पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल र छिमेकी मूलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आज आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो ।

फेवातालमा भएको उक्त फेष्टिभलमा नेपाल,चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् ।प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएर दैनिक अध्यास गरेका थिए।

प्रतियोगितामा चीनको आठ,सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन्।प्रतियोगितामा गण्डकी,बागमती,कर्णाली,त्रिभुवन आर्मी क्लब,ड्रागन बोर्ट गण्डकी,बेगनास टोली,रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन(नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा पाँच सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ।

यही पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेश सरकार,पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको हो ।