भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

२४, पुस काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौँ रकम बराबरको भौतिक क्षति भएको थियो ।