अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु

२५, पुस सिड्नी । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ ।

दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

दीक्षाले केहीअघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् ।नव विवाहित पत्नीको निधनले ज्वाइँ निकै दुखित भएको दीक्षाका दाजुले द डेली टेलिग्राफलाई बताएका छन् ।

यो घटनाको दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो । सो फोन एक पुरुषले उठाएका थिए भने फोन उठाउने व्यक्ति लबिन्द्र भएको ठानिएको छ ।