
२८ पुस, काठमाडौ। पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी), काठमाडौंका करिब एक लाख १० हजार २६३ किशोरीलाई लगाइने भएको छ ।
आइतबार जनस्वास्थ्य कार्यालय काठमाडौंले आयोजना गरेको जिल्ला खोप समन्वय समिति र सञ्चार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले काठमाडौंका ११ स्थानीय तहका उल्लेखित संख्याका किशोरीलाई खोप लगाइने जानकारी दिए ।
उनका अनुसार कक्षा ६ देखि १० सम्मका ९७ हजार ५४० र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७२३ किशोरीलाई खोप लगाइनेछ।काठमाडौँं महानगरपालिका क्षेत्रमा सबैभन्दा बढी ५१ हजार ३४७ किशोरी र सबैभन्दा कम नागार्जुन नगरपालिकामा चार हजार ६५२ किशोरीलाई एचपिभी खोप दिइने छ ।
खोपका लागि दुई हजार ४१२ स्वास्थ्यकर्मी खटिदैं छन्।माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।
जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार नगरपालिकामा प्रमुख र वडा कार्यालयमा वडाध्यक्षको संयोजकत्वमा खोप समिति गठन गरेर काम गरिदै छ ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेको छ ।
