कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब अनुदान प्रवाह, झन्डै २ करोड कृषक लाभान्वित

२८ पुस,काठमाडौं ।कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा कृषकहरूलाई प्रवाह गरेको अनुदान रकम आइतबार सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार ५ वर्षमा अनुदानमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह भएको र यसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ देखि आव २०८०÷०८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह भएको मन्त्रालयको भनाइ छ।राज्यबाट अनुदान लिने तर उद्देश्य अनुरूप रकमको सदुपयोग नभएको गुनासो आएपछि मन्त्रालयले अनुदान रकम प्रवाहबारे जानकारी दिएको हो ।

स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना तथा उखु कृषक प्रोत्साहन अनुदान कृषि बिमाको प्रिमियम अनुदान पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियम अनुदान मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्ममार्फत उक्त अनुदान रकम प्रवाह भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।