
२९, पुस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ । स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरुन्तै अर्को स्वास्थ्य संस्थामा पठाइ उपचारको व्यवस्था मिलाउनुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
आफ्नो संस्थाको संरचना, उपकरण, विशेषज्ञ सेवा नभएको वा अन्य उपयुक्त कारणले उपचार प्रदान गर्न नसकिने अवस्थामा संस्थामा उपलब्ध हुने सेवा प्रदान गरी थप उपचारका लागि अरु अस्पतालमा प्रेषण गर्नुपर्ने छ ।
आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनुपर्ने निर्देशिकामा भनिएको छ ।
स्वास्थ्य संस्थाले आफ्नो तहअनुसार प्रदान गर्नुपर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्न नहुने र स्वास्थ्य संस्थाले सेवा उपलब्ध नहुँदा मात्रै सबैभन्दा नजिकै र पायक पर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।
