चन्द्रागिरिका पानी, तेल तथा डेरी उद्योगमा अनुगमन तीव्र

५, माघ काठमाडौं । संयुक्त बजार अनुगमन टोलीले चन्द्रागिरि नगरपालिकाभित्र सञ्चालित खाद्यन्नरकिराना पसल, पानी उद्योग, खानेतेल (तोरी मिल) उद्योग एवं दूग्धजन्य डेरी उद्योगमा अनुगमनलाई तीव्रता दिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै प्रयोगमा ल्याइएको अत्याधुनिक घुम्ति प्रयोगशाला फुडल्याब भ्यान’ मार्फत स्थलगत रुपमा परीक्षण गरिएको सो अनुगमन टोलीमा चन्द्रागिरि नगरपालिका सहित जिल्ला प्रशासन कार्यालय काठमाडौँ, प्रहरी वृत्त थानकोट र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागको प्रतिनिधि रहेका थिए ।

गत पुस २६ गते सो टोलीले अनुगमनका क्रममा चन्द्रागिरि –१२ स्थित बलम्बुमा रहेको ह्वाइट हिमालयन मिल्क प्रालीले बिक्रीवितरणका लागि तयार गरेको दूधको परीक्षण गर्दा अखाद्य बस्तु अर्थात ‘न्युट्रलाइजर पोजेटिभ’भेटिएको र तत्काल ६०० लिटर दूध नष्ट गरेको थियो । साथै सो उद्योगबाट उत्पादित अखाद्य घिउ, नौनी तथा पनिर समेत अनुगमन टोलीले नष्ट गरेको थियो ।