
१५, माघ पाल्पा । कक्षाकोठामा शिक्षण कार्यका लागि प्रयोग हुने शैक्षिक सामग्री रामपुर नगरपालिकाले तयार पार्न थालेको छ ।
दैनिक कक्षाकोठामा शैक्षिक प्रयोजनका निम्ति शैक्षिक सामग्री अनिवार्य प्रयोग हुने भएकाले बाहिरबाट सामग्री खरिद गर्नुभन्दा शिक्षकलाई ज्ञान, सीप प्रदान गरेर स्थानीय सामग्रीबाट निर्माण नगरपालिकाले सुरुआत गरेको हो ।
नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माणका लागि व्यावहारिक ज्ञान, सीप दिइएको छ । प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० शिक्षकलाई शैक्षिक सामग्री निर्माणसम्बन्धी सीप सिकाइएको छ ।
शिक्षण कार्यमा सैद्धान्तिक ज्ञान, सीप मात्र नभई व्यावहारिक कुरा शिक्षण गरिनुपर्ने भएकाले विद्यार्थीलाई सरल माध्यमबाट बुझाउन, स्थानीय स्तरमा नै भएका स्रोतसाधन प्रयोग गरेर शैक्षिक सामग्री निर्माण गर्न शिक्षकलाई तालिम दिइएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताए । स्थानीय स्तरमा प्राप्त स्रोतसाधनबाट थोरै समय र बिनालगानी शैक्षिक सामग्री निर्माण गरी राम्रो र रमाइलो वातावरणमा कक्षा शिक्षणका सीप सिकाइएको उनको भनाइ छ ।
