१८ माघ, काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।
विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । अधिवशेन सुरु भएको दिन भएकाले यसअघि जस्तै दलीय आधारमा सदस्यहरुले आ–आफ्नो मन्तव्य राख्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
गिरीका अनुसार बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
यस्तै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्नेछन् । त्यसपछि मन्तव्यको क्रम सुरु हुनेछ ।
