
२३, माघ काठमाडौं । काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने भएको छ ।
पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए । महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो ।
योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको बताए ।
