टिकटक बन्द गरेका प्रचण्डले सामाजिक सञ्जाल विधेयकको विरोध गरेका छन् : महासचिव पोखरेल

२५ माघ,काठमाडौं ।नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै सरकारमा हुँदा टिकटक बन्द गरेका तर अहिले सामाजिक सञ्जाल विधेयकको विरोध गरेर हिंडेको बताएका छन् ।साथै प्रचण्डमा बारम्बार बोली फेर्ने प्रवृत्ति रहेको र बोलिको ठेगान नरहेको भन्दै जिम्मेवार नेताले यस प्रकारको हकर्त गर्न नहुने पनि उनले सुझाएका छन् ।

प्रचण्डले बिहीबार प्रतिनिधि सभा बैठकमा बोलेको विषयलाई इंगित गर्दै एमाले महासचिव पोखरेलले प्रचण्डमा आफूँ सत्तामा रहँदा एउटा र बाहिरा हुँदा अर्को बोल्ने प्रवृत्ति हाबी भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेखेका छन् —‘सामाजिक सञ्जाल नियमनको आवश्यकता बोध गरेर वर्तमान सरकारले संसदमा दर्ता गरेको विधेयकका सन्दर्भमा नेकपा (माओवादी केन्द्र० का अध्यक्ष तथा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभाको बैठकमा दिएको अभिव्यक्ति सुन्दा ६ महिना पहिले प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र अहिले विपक्षी दलको नेता रहेका प्रचण्ड एउटै हुन् कि फरक हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न गराएको छ’।

विगतमा आफू प्रधानमन्त्री भएका वेलामा दुरुपयोग भयो भनेर टिकटक नै बन्द गर्ने निर्णय गरेका प्रचण्डले टिकटक खोल्न अनुमति दिने सरकारलाई अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप लगाउनु दिउसै रात पार्नु जस्तै भएको उनको प्रतिक्रिया छ।

‘सोसल मिडियाको दुरुपयोग भयो भनेर सोसल मिडिया प्लेटफर्म नै बन्द गर्दा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने, अनि त्यसलाई सञ्चालन गर्न दिएर नियमन गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने हुन्छ र ? अवश्य हुँदैन’, उनले उल्लेख गरेका छन् ।

‘सत्ता गुमाउँदाको छटपटी मात्र कि अरू केही ?’, उनले प्रचण्डलाई प्रश्न पनि गरेका छन् ।