बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न

१, फागुन काठमाडों । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार अण्डर ग्राउण्ड गर्नका लागि होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सम्पन्न भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप अहिले करिब २० घण्टामा मर्मत कार्य सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने, “पाइप फुटेपछि मन्त्रीको निर्देशनपश्चात् हामीले गएरातिबाट मर्मतको कार्य सुरु गरेका थियौँ । अहिले मर्मत कार्य सकिएको र पानी परीक्षण भएको छ । परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुन्छ ।”

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा क्षति भएको खानेपानी मन्त्री यादवले बताए ।