
२ फागुन,काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।बैठकमा महामन्त्री थापाले निजामती सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत,अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रतिशत प्रस्ताव गरे।
उनले खुला प्रतियोगिताको १० प्रतिशतमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत गैर निजामती सेवा, गैरसरकारी सेवामा रहेकाहरूका लागि प्रस्ताव समेत गरेका छन् ।
उनले भने, ‘निजामती सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरू पनि आओस् जसले गर्दा निजामती सेवामा तल भर्याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिस्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि गर्छौँ ।
खुला प्रतियोगिताका लागि १०,अन्तर तहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रस्ताव गरेको छु ।
खुला प्रतियोगितामा सेवा भित्रबाट प्रतिस्पर्धा गर्न नपाउने ।त्यसमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत निजामतीभन्दा बाहिरको गैरनिजामती सेवा,निजी क्षेत्र,गैरसरकारी सेवा रहेका मान्छेहरू चाहिँ आउन पाउने छन् ।’
यस्तै गरि बैठकमा समिति सदस्य एवं नेकपा एमालेका सांसद रघुजी पन्तले निजामती सेवामा नयाँ विकसित प्रविधि चलाउन जान्ने व्यक्ति ल्याउनुपर्ने बताए।उनले नयाँ पुस्तालाई नेपाल सरकारको अधिकृत सेवामा आकृष्ट गर्ने दृष्टिकोणले केही प्रतिशत स्थान दिनुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, ‘एउटा पक्षको वृत्ति विकासमात्र हेरेर होइन,प्रविधिको परिवर्तन भइरहेको बेला प्रविधिको प्रयोग गर्न जान्ने मान्छे प्रशासनमा ल्याउनु भएन भने अबको प्रशासन अघि जान सक्दैन त्यसैले यो खुलाबाट आउने भनेको योग्य मान्छे आउने ठाउँ हो यसलाई घटाउन हुँदैन।वृत्ति विकासको बढुवा कुरेर बस्ने भनेको वा फाइल बढुवमै पर्खिनु भनेको प्रतिस्पर्धामा पछाडि पर्ने मान्छेहरु हो ।’
समितिका अन्य सदस्यहरूले निजामती ऐनलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् ।
