
६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव नजिकिएसँगै निर्देशिकाप्रति असन्तुष्ट विद्यार्थी नेताहरूले रेक्टर कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद परिषद्मा ताला लगाएका छन् ।
पद्यमकन्या बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पसका स्ववियु अध्यक्ष प्रेम जैशीले रेक्टर खड्ग केसीको त्रिवि कार्यकक्षको ढोकामा ताला लगाएका छन्।आफूहरूसँग छलफल नै नगरी स्ववियु निर्वाचनको निर्देशिका बनाएको भन्दै उनीहरूले ताला लगाएको बताएका छन्।
निर्देशिकाको बुँदा १३ (४) मा स्ववियु निर्वाचन सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल ४ चैतदेखि स्वतः समाप्त हुने भन्ने विषयलाई सच्याउन उनीहरूले माग गरेर विज्ञप्तिसमेत निकालेका छन्।
‘त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८९घ० को विपरीत भएकाले उक्त निर्णय खारेज गर्न र निर्वाचनबारे अनावश्यक विवाद गर्नुको सट्टा छलफल र परामर्शसहित नियमसंगत ढंगले गल्लीहरू सच्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते हुँदै छ । यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि नियमित रुपमा हुन सकेको थिएन ।
विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो ।त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्यतिवेला नौ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।तर तालाबन्दी भएपछि चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचन फेरीपनि तोकिएको समयमा नहोला कि भन्ने आशंका उब्जिन थालेको छ।
