
७, फागुन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु वर्तमानको कार्यभार भएको बताएका छन् ।
साथै उनले लोकतन्त्रको रक्षा गर्नु हामी सबैको साझा दायित्व भएको स्मरण गराएका छन् । अध्यक्ष नेपालद्वारा ७५औँ प्रजातन्त्र दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, “मुलुकमा रहेको निरङ्कुश, जहानियाँ र तानाशाही व्यवस्थाबाट देशलाई मुक्त गरी लोकतान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
यस अवसरमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।” “मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ र राज्य शक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीरांगना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले नेपालको इतिहासमा आजको दिन गौरवपूर्ण र अविस्मरणीय रहेको छ । जनताको संघर्षबाट प्रजातन्त्रकै जगमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गरेका छौँ”, सन्देशमा भनिएको छ ।
