प्रजातन्त्र दिवस जनताको दिवस होस् पूर्व राष्ट्रपति : डा. यादव

७, फागुन काठमाडौं । पूर्व राष्ट्रपति डा। रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले नेपालको राजनीतिक इतिहासमा फागुन ७ महत्त्वपूर्ण भएकाले सबै नेपालीले गौरवपूर्ण ढंगबाट यो दिवस मनाउन आह्वान गरे । पूर्वराष्ट्रपति यादवले भने, “यो जनताको दिवस हो । जनताका अधिकार प्राप्तिका सन्दर्भमा कोसेढुंगाका रूपमा यो दिनलाई लिनुपर्छ । २००७ को परिवर्तन जुन ढंगबाट भयो जनताको अधिकार प्राप्तिको लडाइँबाट जनता स्वतन्त्रता भएको दिन हो, आज ।”

फागुन ७ गतेले लोकतान्त्रिक राजनीतिक स्थापना गर्न मार्ग निर्देश गरेको बताउँदै उनले मुलुकमा धेरै उतारचढाव हुँदै बि।सं। २०४६ र २०६२र०६३ को जनआन्दोलनमार्फत सामन्ती संस्थाको निर्मूल र नष्ट गरी अघि बढ्न सम्भव भएको धारणा राखे ।

पूर्वराष्ट्रपति डा। यादवले भने, “अहिले मुलुकले सभ्य समाज उपभोग गरिरहेको छ, त्यसको मूल जरो भनेको २००७ साल हो । जुन मुलुकको राजनीतिक इतिहासमा त्यति ठूलो योगदान कहिल्यै भएको थिएन । त्यो धेरै ठूलो परिवर्तन थियो ।” मुलुक संघीयता, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षसहित लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा रहेको बताउँदै उनले त्यो प्राप्तिको मुख्य जग भनेको नै २००७ को राजनीतिक परिवर्तन भएको टिप्पणी समेत गरे ।